शनिबार १५ माघ २०७८

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–१ स्थित बन्जरहामा भारतले आफ्नो भूमि भन्दै एकतर्फी रुपमा बनाएको बाँधले दशगजा मिचेको प्रमाणित भएको करिब डेढ वर्ष बितिसक्दा पनि अहिलेसम्म भत्काएको छैन् । भारतले दादागिरी शैलीमा प्रत्येक वर्ष बढाउँदै लगेको सो बाँध कोरोनाको पहिलो लहरसँगै देशभर जारी लकडाउनको मौका छोपेर २०७७ सालको जेठ महिनादेखि बढाउँदै लगेको थियो ।

तर स्थानियवासी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनले डटेर भारतको सो कार्यको प्रतिकार गरेपछि भारतले बाध्य भएर सो बाँधको निर्माण कार्य रोकेको थियो । नेपाल र नेपाली जनतालाई पेलेरै बाँध निर्माण गर्ने नीति लिएर अगाडि बढेको भारत रौतहटवासीको कडा प्रतिकार र स्थानीय प्रहरी–प्रशासनको कडा रवैयापछि हच्किएर पछाडि हटेको थियो ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोलीले उक्त बाँधले सीमा मिचेको भू–भाग नभत्काए नेपालले भत्काउने चेतावनी दिएपछि भारतले आफैले बाँधको केही भाग भत्काएको पनि थियो ।

त्यसपछि सो स्थानमा दुवै देशको सर्वे टोलीले सो क्षेत्रको सर्वेक्षण र नापी गर्दा सो बाँधले ११ स्थानमा दशगजा मिचेको प्रमाणित भएपछि मिचिएको सीमा क्षेत्रको ११ स्थानमा जीआई पाइपको अस्थायी पिलर गाडिएको छ । दशगजाको मध्य विन्दू गाडिएका सो पाइपको दायाँबाँया ९.१ मिटर पूर्ण रुपमा खाली हुनुपर्छ । त्यस स्थानमा दुबै देशले कुनैपनि अस्थायी तथा स्थायी संरचना बनाउन पाउदैनन् ।

दशगजाको मध्यविन्दूमा गाडिएका ती अस्थायी पिल्लरहरुमध्ये केही त बाँधमै परेका छन् । यसरी दशगजा मिचेको प्रमाणित भएपछि भारतीय पक्षले २०७७ सालकै कात्तिकभित्र बाँधले मिचेको दशगजा खाली गर्ने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म बाँधको अवस्था पनि ज्यूँ का त्यूँ रहेको छ ।

करिब २ सय मिटर लम्बाइ क्षेत्रमा भारतीय बाँधले दशगजा मिचेको प्रमाणित भएको थियो । सुगम जिल्लाको ठाउँ भएपनि सबैतिरबाट अपहेलित हुँदा बन्जारावासीले जनजीवन समस्याको सामाना गर्दैमा बितिरहेको इशनाथ नगरपालिका वडा नम्बर १ वार्ड अध्यक्ष विगु साहले गुनासो गरे ।

‘भारतीय बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी हामी डुबेर बस्नुपर्छ’ उनले भने, ‘भारतीय बाँधकै कारण हाम्रो नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ वर्षामा पूर्ण रुपमा डुबान पर्ने समस्या वर्षौदेखि हामीले भोग्दै आएका छौँ । डुबानकै कारण हामीले दुःख गरेर लगाएको बाली समेत कहिल्यै भित्र्याउन पाउदैनौ ।’

निकास बिनाको भारतीय बाँधका कारण रौतहटवासीले वर्षामा सधैँ डुबेर बस्नुपर्ने वाध्यता रहेको छ । स्थानीय प्रशासनले सो दशगजा मिचेको बाँध भत्काउन भारतीय पक्ष र नेपाल सरकारलाई बारम्बार पत्रचार गरेपनि अहिलेसम्म दुबै पक्ष सुनेर पनि नसुनेझैँ गरेका स्थानीय नन्द किशोर सिंहको भनाइ छ ।

सो बाँध भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६/५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाएकोे छ । बाँधलाई वर्षाको पानीले नभत्कियोस् भनेर वालुवाको बोराहरु राखेर मजवुत बनाउँदै भारतीय पक्षले वर्षेनी एक पक्षिय ढंगले लम्बाइ तथा उचाइ बढाउँदै आएको छ ।

भारतीय बाँध करिब तीन किलोमिटरभन्दा लामो, पन्ध्र फिटभन्दा अग्लो र दश मिटरभन्दा चौडाईको रहेको छ भने नेपाल तर्फको वर्षाको पानी निकासका लागि एउटा ढोका समेत राखिएको छैन । अझ भारतले बाँध अग्लो बनाएपछि साविक नेपाल भारत आवतजावत गर्ने बाटो समेत बन्द भएको छ ।

साविकको सम्म बाटो भारतले बाँध बनाएर अग्लो बनाएपछि सो स्थानबाट चारचक्के सवारी, एम्बुलेन्स लगायतका सवारीसाधन आवातजावत हुन सकेको छैन । यसले गर्दा स्थानीयले थप सास्ती खेप्नु परेको स्थानीय लक्ष्मी नारायण साहले दुःख व्यक्त गरे ।

भारतले सीमामा निर्माण गरेको बाँधहरु रौतहटवासीको लागि अभिशाप बन्दै आएको छ । भारतले रौतहटको सिमामा एकतर्फी रुपमा निमार्ण गरेको करिब ५ किलोमिटर लामो बाँधले रौतहट जिल्ला वर्षेनी बाढी तथा डुबानको चपेटामा पर्छ ।

स्थानीयले पहिलेदेखिनै भारतले एकतर्फी बनाएको सो बाँधले दशगजा मिचेको भन्दै निरन्तर प्रतिकार गर्दै आइरहेका छन् । बन्जरहावासी निरन्तर भारतको हेपाहा प्रवृतिको विरोधमा लडिरहेपनि सरकारले भने उनीहरुको होष्टेमा हैसै दिने कामसमेतरी नगरेको स्थानीय युवा आलोक सिंहको भनाइ छ । न्युज२४


Last Updated on: January 12th, 2022 at 5:51 am
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया