बुधबार ०५ माघ २०७८

विराटनगर । ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् । चर्को अभिब्यक्ति दिएर विवादमा आइरहने मेयर चौधरीले सेवाग्राहीलाई कार्यकक्षमा थुनेको विषयले विवादमा तानिएका हुन् ।

उनले एक व्यक्तिले खोला मिचेर घर बनाएको विषयलाई लिएर कार्यालयमा छलफलका लागि बोलाएका थिए । उनीहरुलाई नै कार्यकक्षमा थुनेको आरोप लागेको छ ।

३ वर्ष पहिला नै ईटहरी उपमहानगरपालिका( ४ का यामप्रसाद ढकालले खोला मिचेर घर बनाएका थिए ।

उनले बनाएको घर भत्काउन ईटहरी उपमहानगरपालिकाले पटक पटक भन्दै पनि आए पनि उनीहरुले सुनेका थिएनन् ।

कार्यालयमा बोलाएर छलफल गरेका मेयर चौधरीले आफ्नो कुरा नसुनेपछि कार्यकक्षमै थुनेको आरोप लगाइएको हा ।

कार्यालयमा बोलाएका मेयर चौधरीले कार्यलयमा पुगेपछि घर भत्काउन भनेको तर आफूले नमानेपछि कार्यालयमा थुनेर मेयर भागेको ढकालले आरोप लगाएका छन् ।

दिउँसो २ बजे बोलाइएका ढकाल कार्यालयमा समयमा नै आएनन् । फोन गरेर जानकारी लिँदा उनी विराटनगर भएको भनिएपछि करिब ३ बजेतिर मेयर चौधरी ईन्जिनियरसहित कार्यालयबाट बाहिर निस्किएको मेयरको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, विभिन्न वडामा भइरहेको विकास निर्माणको निरीक्षणको क्रममा निस्किएलगत्तै बाहिर भेटिएका ढकाललाई कार्यालयमा गएर बस्न भनिएको थियो ।

‘कार्यालयमा लगेर राख्न मेयरले नगर प्रहरीलाई भनेको थियो,’ सचिवालय भन्छ, ‘करिब ४ बजेतिर उनलाई थुनिएको भन्ने खबर हामीलाई नै आयो, भित्र भएको बेला बाहिरबाट कसैले ह्यान्डल लगाइदिएको हुनसक्छ । मेयरले कसरी थुन्न सक्छ र ? ’

मेयर चौधरीले पनि आफुलाई लगाएको आरोप निराधार भएको बताएका छन् । घटना सार्वजनिक भएपछि प्रतिकृया दिँदै आफुले कोठामा बस्नु भनेर आफु बाहिर निस्केको बताएका छन् ।

‘ढकाललाई म बाहिर निस्कँदैछु । आएपछि कुरा गरौँला‚ प्रमुख प्रशासकीय अधिकृतको कोठामा बस्दै गर्नू भनेको थिएँ,’ उनले भने, ‘अहिले थुन्यो भनेर हल्ला गर्नुभएछ ।’ मेयर चौधरीले भने म बाहिर गएर आँउछु बस्दै गर्नु भनेको हो । मैले थुनेको छैन ।’
साभार- ताजा खबर


Last Updated on: August 12th, 2021 at 4:35 pm
३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया