बुधबार १२ माघ २०७८

विराटनगर: हुलाकी राजमार्ग अन्तरगत भुट्हा हरिनगरा सडक खण्डमा पर्ने मर्‍या खोला तर्न रु १० तिर्नुपर्ने गाउँपालिकाकै मिलेमतोमा स्थानीयहरुले नियम लगाएका छन् ।

ठेकेदारले तोकिएको समयमा पुल निर्माण नगर्दा हरिनगरा गाउँपालिकाले एक लाख ९० हजारको लागतमा सो खोला ओहरदोहर गर्न बाँसको पुल निर्माण गरेको थियो ।

गाउँपालिकाले एक लाखको लोहाको पाईप र ९० हजारको बाँस किनेर पुल निर्माण गरेपछि स्थानीय युवाहरुले पुलबाट ओहरदोहर गरेवापत रु १० लिने गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत भुट्हा हरिनगरा सडक खण्डमा पर्ने सो खोलामा पुल समयमा ठेकेदारले नबनाउँदा स्थानीय युवाहरुले बाँसको पुल वर्षेनी बनाएर अवैध रुपमा यात्रुसँग पैसा असुली गर्ने गरेका हुन् ।

हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीले एक लाख ९० हजारमा पुल निर्माण गरेको केही दिनमा नै आएको बाढीले पुल बगाउँदा मर्मतको लागि स्थानीय युवाहरुलाई रु १० लिन भनेको बताए । उनले भने ‘बासको पुल निमार्ण भएको चार दिनमा नै बाचिन्छ । अनि मर्मतको लागि रु १० लिन युवाहरुलाई भनेको हुँ ।’

तर स्थानीयहरुका अनुसार खोलामा पानीको बहाव बढेसँगै स्थानीयहरुले खोलामा बाँसको पुल बनाएर वर्षेनी ओहरदोहर गरेवापत वापत रु १० लिने गरेका छन् ।

लामो समय पुल नबन्दा दुई वटा गाउँपालिकाका बासिन्दालाई वर्षेनी सास्ती नै छ । बाँसको पुल तर्दा वा मोटरसाइकल तार्न पनि पैसा तिर्नुपर्ने स्थानीय बताउँछन् ।

यसवाहेक एउटै पुलमा ओहोर दोहोर गर्दा दुई पटकसम्म पैसा तिर्नुपर्ने नियम राखिएको स्थानीयको गुनासो छ । स्थानीय रमेश महतका अनुसार प्रत्येक वर्ष वर्षायाम सुरु हुनासाथ बाँसको पुलमा ओहरदोहर गरेवपात पैसा तिर्नुपर्ने बाध्यता छ ।

राजमार्गको काम सुरु भएलगत्तै खोलामा पुल निर्माणको  लागि सडक डिभिजन कार्यालय विराटनगरले विराटनगरकै कार्की बन्धु कन्सल्टेन्ट प्रालिलाई ठेक्का दिएको थियो ।

२०७४ साल माघ २६ गते ६ करोड ३३ लाख १९ हजार ५ सय ठेक्का रकममा कार्की बन्धुलाई दुई वर्षमा निर्माणको काम सम्पन गर्ने गरी ठेक्का दिएको थियो ।

तर तोकिएको समयपछि पनि दुई पटक म्याद थप गरिए पनि पुल निर्माणको काम आधा मात्र भयो । पुल निर्माण नहुँदा हरिनगरा र देवानगंज गाउँपालिका वासिन्दा बढी प्रभावित भएका छन् ।

दैनिक एक हजारको हराहरीमा खोला तरेर ओहर दोहर गर्दैआएका स्थानीयहरुले जनप्रनिधि र ठेकेदारको लापरवाहीले पुल नबनेको गुनासो गर्छन् । स्थानीय मो कादिरले भने ‘ठेकेदारको पुल बनाउने मनसाय नै छैन । विभिन्न बहाना देखाएर काम गर्दैछु भनेर मात्र देखाउने गरेकाले यात्रुलाई सास्ती छ ।’

पुल नबन्दा हरिनगर, बसन्तपुर, भोक्रहा, नसिङ्ग, जलपापुर, घुस्की, फुल चौक सम्मको बाटो पूर्ण रुपमा अवरुद्ध समेत भएको छ ।

सो सडक खण्डको विराटनगरको बरगाछीदेखि सुनसरीको नरसिङस्थित महेन्द्र राजमार्ग सडकसम्म २६ किलोमटिर सडकको निर्माण काम समेत पुलको कारण प्रभावित बनेको हुलाकी राजमार्गको इटहरीस्थित कार्यालयका प्रमुख दिपेन्द्र पाण्डेले जानकारी दिए  ।

मर्‍या खोलामा ४० मिटर लामो पुल निर्माणको ठेक्का लिएका विराटनगरकै कार्की बन्धु कन्सल्टेन्ट प्रालिका दिलीप कार्की भने पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

स्थानीयहरुले कोरोनाको कारण निर्माण कार्य प्रभावित भएको भन्दै सरकारले बजेट भाषणमा नै समय थप गर्ने उल्लेख गरेपछि पुलको ढलान गर्न जडान गरेको संरचना खोलेर लगेको बताएका छन् ।

यस सडक खण्डको सडक निर्माण भएपछि विराटनगरबाट पश्चिम जाने यात्रुहरु सोही बाटो रोज्ने गरेका छन् । यस खोलामा वर्षौँदेखि पटक पटक बाँध बनाउने प्रयास गरिए पनि दिगो नभएपछि २०४१ सालपछि मर्‍या खोलाको रुपमा नामाकरण गरिएको हो ।
साभार- अन्नपूर्ण पोस्ट


Last Updated on: August 22nd, 2021 at 9:40 am
६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया