शनिबार १५ बैशाख २०८१

काठमाडौँ । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा)ले आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा-८ जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेकी हुन् ।

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा त्यहाँबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको थियो । भोलिपल्ट दिउँसो उनको मृत्यु भएको हो ।

चलचित्र पत्रकार संघ कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् । ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् ।

पोखरा-२० भलाममा २०५५ पुस २७ मा जन्मिएकी एलिजाको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशुसमेत हुर्किँदै गरेको बताइएको छ । उनले आत्मदाह गर्नुको कारण खुलेको छैन ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारी र सचिव सन्तोष बस्यालले शोक विज्ञप्तिमार्फत कार्यसमिति सदस्य क्षेत्रीको असामयिक निधनले संघ परिवार मर्माहत र स्तब्ध भएको जनाएका छन् ।


Last Updated on: August 23rd, 2023 at 10:45 am
१०४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया